Sewak Nepal

सेवक नेपाल : निस्वार्थ सेवाको एक प्रतीक

New Project
✍️ लेखक: बुद्ध गौतम
📅 मिति: २०८२ साल कार्तिक १३ गते

सेवक नेपाल संस्था आफ्नै इतिहास, विरासत र विशिष्ट पहिचान बोकेको एक अद्वितीय संस्था हो । आज यस संस्थाको अभियन्ता बन्नु सामान्य देखिए पनि भोलिको दिनमा यही कार्य गर्वको विषय बन्नेछ भन्नेमा कुनै शंका छैन । एउटा प्रेरणादायी कथा र महान उद्देश्यबाट जन्मिएको यस संस्थाको महत्व, आवश्यकता र गरिमा दिनानुदिन बढ्दै गएको छ। यस अभियानमा आवद्ध अभियन्ताहरू मात्र नभई सम्पूर्ण नेपाली समाजले समेत यस संस्थाप्रति गौरव गर्न सक्ने अवस्था बन्दै गएको छ।

स्थापना र सुरुवात

सेवक नेपाल संस्थाको प्रारम्भिक यात्रा विक्रम संवत् २०७० साल असार ६ गते दक्षिण कोरियामा रहेका केही परोपकारी नेपालीहरूले “गरिब तथा अनाथ बालबालिका संरक्षण कोष” को नामले अभियान संचालन गरी पछि बिस्तारको क्रममा प्रवासका विभिन्न मुलुक हुँदै नेपालसम्म जोडिएको हो । एक वर्षपछि सो अभियानको नाम परिवर्तन गरी “अनाथ बालबालिका संरक्षण कोष” राखियो, र अन्ततः विक्रम संवत् २०७२ सालमा नेपालमा औपचारिक रूपमा “सेवक नेपाल” नामक संस्थाको रूपमा दर्ता गरियो।

लक्ष्य र उद्देश्य

संस्थाको मुख्य उद्देश्य अभिभावकविहीन, असक्त तथा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई संरक्षण, शिक्षा र पारिवारिक माया सहितको वातावरण उपलब्ध गराउनु हो । यस उद्देश्य अनुरूप संस्थाले २०७४ साल पौष २३ गते काभ्रे जिल्ला, मण्डनदेउपुर नगरपालिका–९, धाईटार थुम्कास्थित ६ रोपनी ११ आना जग्गा खरिद गरी संस्थाको आफ्नै भवन निर्माणको प्रक्रिया सुरु गर्‍यो । २०७६ साल माघ १६ गतेदेखि भाडाको घरबाट संचालन हुँदै आएको बालगृह आफ्नै जग्गामा स्थानान्तरण भई हाल ३७ जना बालबालिकाहरू संरक्षणमा रहेका छन् । केही सीमित अभियन्ताबाट सुरु भएको यो अभियान आज ३०० भन्दा बढी अभियन्तासम्म पुगेको छ। यो संस्थाको लागि गर्वको विषय भए पनि संस्थाको विशाल लक्ष्य हेर्दा यो यात्रा अझै प्रारम्भिक चरणमा मात्र रहेको बुझिन्छ।

सहभागिता र निस्वार्थ सेवा

सेवक नेपाल सबै अभियन्ताहरूको समान हैसियत, सहभागिता र अपनत्वमा आधारित संस्था हो । कतिपय अभियन्ताहरूले निस्वार्थ सेवाको भावना बोकेर लामो समयदेखि योगदान पुर्‍याइरहेका छन् भने केहीले आर्थिक अभाव वा व्यक्तिगत कारणवश केही समयका लागि निष्क्रिय हुनुपरे पनि पछि आएर पुनः जोडिने गरेको यथार्थ हामी सामू छ । तर संस्थाको लोकप्रियतासँगै केही पात्रहरू कुसित मनसाय बोकेर केवल व्यक्तिगत लाभ वा राजनीतिक स्वार्थका लागि अभियानमा जोडिने र पछि छुट्ने पनि नदेखिएका हैनन् ।
तर बुझ्नु पर्ने कुरा के हो भने सेवक नेपाल लिनका लागि होइन, दिनका लागि स्थापना गरिएको संस्था हो। यहाँबाट व्यक्तिगत स्वार्थ खोज्नु भनेको यी निर्दोष बालबालिकामाथि अन्याय र अत्याचार गर्नु हो । यस संस्थामा आवद्ध सबै अभियन्ताहरूले निस्वार्थ सेवाको भावना राख्नु नै आफ्नो मूल धर्म हो। सेवक नेपालले यही कारणले आजसम्म आफ्नो पवित्रता र विश्वास कायम राख्न सफल भएको छ।

नेतृत्व र जिम्मेवारी

सेवक नेपाल अभियन्ता–आधारित संस्था भएकोले यसमा नेतृत्वको आकांक्षा होइन, सेवाको भावना बोकेर अभियानमा सहभागी हुनु नै संस्थाको मूल सिद्धान्त हो । यदि तपाईंले निस्वार्थ भावले योगदान दिनुभयो र तपाईँमा दक्षता र क्षमता सबै छ भने नेतृत्वका लागि संस्थाले यहाँलाई खोज्दै आउनेछ। तर व्यक्तिगत महत्वाकांक्षा वा आफ्नो स्वार्थका लागि नेतृत्वमा आउन खोज्नु हुन्छ भने संस्थामा यहाँले गरेको घात हुनेछ । सेवक नेपालमा अभियन्ता नै सर्वोच्च मानिन्छ, र अभियन्ताको रूपमा यहाँले पुर्‍याएको निस्वार्थ योगदान नै सबैभन्दा ठूलो योगदान हो।

अन्तर्राष्ट्रिय दृष्टि र प्रेरणा

हामी चाहान्छौँ सेवक नेपाल संस्थालाई अन्तरास्ट्रिय संस्थाको रूपमा चिनाउन र हरेक नेपालीले यसको नाम सुनेरै गर्व गर्न सक्ने बनाउनु । यसो भन्दै गर्दा यहाँहरूको मनमा उब्जिन सक्छ — “यो के सम्भव छ त?” म भन्छु — बिल्कुल सम्भव छ । हिजो अहिलेको सेवक नेपालको चित्र कोर्दै गर्दा अहिले हुनु भएका कतिपय अभियन्ताले असम्भव भनेका थिए, तर अहिले त्यो सम्भव भयो। र भोलि पनि त्यो सम्भव हुनेछ। “गरे असम्भव केही छैन।” विश्व इतिहास हेर्दा पनि ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाहरू साधारण मानिसकै महान सोचबाट जन्मिएका देखिन्छन् । नेल्सन म्यान्डेलाले मानव अधिकार र समानताको लागि चलाएको संघर्षबाट प्रेरित भई स्थापना भएको Nelson Mandela Foundation लाई हेर्नुहोस् । मदर टेरेसाले कोलकाताका गरिब, रोगी र असहायहरूको सेवामा स्थापना गरेको Missionaries of Charity नै किन नहोस् । र मुहम्मद युनुसले साधारण जनतालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरु गरेको Grameen Bank। यी सबै असम्भव जस्ता लाग्ने कार्यहरूको प्रेरणादायी उदाहरण हुन्।

त्यसरी नै, सेवक नेपाल पनि केही साधारण तर समर्पित नेपालीहरूले सुरु गरेको एउटा निस्वार्थ मानवसेवाको अभियान हो। सीमित साधन–श्रोत, कठिन परिस्थिति र चुनौतीपूर्ण यात्राबीच पनि संस्थाले बालबालिकाको शिक्षादेखि संरक्षणसम्मको जिम्मेवारी बहन गर्दै आइरहेको छ । आज यो संस्था केवल एक संगठन होइन, “असंभव पनि सम्भव हुन्छ” भन्ने विश्वासको प्रत्यक्ष प्रमाण पनि हो।

अनुरोध

कि त तपाईं संस्थामै नजोडिनुहोस्, तर जोडिनु नै भएको छ वा जोडिनुहुन्छ भने यस संस्थामा आफ्नो व्यक्तिगत स्वार्थ, पद प्राप्तिको आकांक्षा र कु-चेष्टासहित सस्तो लोकप्रियताको तावा बोकेर किन्चित नजोडिनुहोस् । हामी चाहन्छौँ सेवक नेपाललाई पवित्र स्थल बनाईराख्न, जहाँ खुलेर शान्तिको श्वास फेर्न सकियोस् । यदि तपाईंले दुषित मनसाय बोकेर छिर्नुभयो भने तपाईं दुषित हुनुहुन्छ नै, तपाईंले हामीलाई समेत दुषित तुल्याउनु हुन्छ, र त्यो भन्दा भयङ्कर यी अबोध बालबालिकाको सुनौलो भविष्यप्रति कुठाराघात हुन पुग्छ।

अन्त्यमा

यसैले, सेवक नेपालमा आवद्ध सबै अभियन्ताहरू र सहयोगी मनहरूमा यही भावना रहोस् कि निस्वार्थ सेवाभाव, दृढ संकल्प र एकताको शक्ति नै सबैभन्दा ठूलो प्रेरणा हो । आउनुहोस्, यही प्रेरणाबाट अघि बढौं र सेवक नेपाललाई विश्वकै उत्कृष्ट मानवीय संस्थामध्ये *“एक”*को रूपमा स्थापित गरौं । त्यसको लागि धेरै पनि पर्दैन; मात्र निस्वार्थ रूपमा तपाईँले दिनको एक कप चिया खाने पैसा छुट्याउनु भयो भने पनि पर्याप्त हुन्छ । हामी जिवित छँदै तपाईं हाम्रा सन्ततिले गर्वबोध गर्ने काम होस् भन्ने चाहानुहुन्छ भने ढिला नगरी आजैबाट यस अभियानमा जोडिनुहोस् र भोलीका हाम्रा सन्ततिले भन्न सकून् —
“जय होस् हाम्रो पुर्खाको, जय होस् सेवक नेपालको।”

How You Can Help

There are many ways to support our mission and make a lasting impact on the lives of vulnerable children in Nepal.

Family-like Care

We provide a nurturing environment where children experience the warmth and security of a loving family, ensuring their emotional and psychological well-being.

Volunteer

Share your time, skills, and compassion with our children. Whether teaching, mentoring, or helping with daily activities, your presence brings joy and hope.

Become a Campaigner

Help us spread awareness about our mission. Use your voice and network to advocate for orphaned children and recruit more supporters to our cause.

"Service is the True Religion"

Join us in our mission to rescue, protect, and empower orphaned children across Nepal. Together, we can build a future where every child has hope, love, and opportunity.

Stay Connected

Subscribe to receive updates about our children and impact stories.

Scroll to Top